काठमाडौं, १२ पुस । अबदेखि सबै मेडिकल कलेज र ५० बेडभन्दा बढी क्षमता भएका निजी अस्पताले पनि कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसका लागि सबै मेडिकल कलेज र ५० बेडभन्दा बढी क्षमताका निजी अस्पताललाई खोप लगाउने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

यसअघि सरकारी स्वास्थ्य संस्थामार्फत मात्र खोप लगाउने व्यवस्था थियो । अब निजी क्षेत्रबाट पनि खोप लगाउन पाइने व्यवस्था मिलाउन लागिएको हो । उनीहरूले खोप केन्द्र सञ्चालन गर्न चाहेको खण्डमा सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी १८ वर्षभन्दा माथिको उमेरसमूहका नेपाली नागरिकलाई खोप लगाउने व्यवस्था मिलाइएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

खोप उपलब्धतताको आधार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म लगाउन पाइनेछ । अहिलेसम्म निजी क्षेत्रलाई खोप केन्द्र सञ्चालनको अनुमति दिइएको थिएन । सरकारले खोप अभियानलाई प्राथमिकतामा राखेको छ । खोप भण्डारणमा एक करोड डोजभन्दा बढी खोप थन्किएर बसेको छ । उक्त खोपलाई लक्षित वर्गसम्म जति सक्दो चाडो पुर्याउनको लागि मन्त्रालयले खोपको दायरा बढाएको हो ।

नेपालमा आजसम्म एक करोडभन्दा बढीले पूर्ण मात्रा खोप लगाइसकेका छन् । अर्थात् लक्षित जनसंख्याको ५१ प्रतिशत जनसंख्याले खोपको पूर्ण मात्रा लगाइसकेका हुन् ।