जनकपुरधाम, ११ पुस । प्रदेश २ को आइतबार बसेको प्रदेशसभा बैठकमा सरकारले ल्याएको ‘प्रदेश प्राविधिक विश्वविद्यालय, २०७८’ सम्बन्धी अध्यादेश बहुमतले स्वीकृत भएको छ ।

आइतबार बसेको आठौं अधिवेशनको चौथो बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले पेश गरेको ‘प्रदेश प्राविधिक विश्वविद्यालय, २०७८’ सम्बन्धी अध्यादेश बहुमतले स्वीकृत भएको हो ।

लोसपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले ‘प्रदेश प्राविधिक विश्वविद्यालय, २०७८’ सम्बन्धी अध्यादेश अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका थिए । उनले प्रस्ताव फिर्ता नलिएपछि उक्त प्रस्तावलाई बहुमतले अस्वीकृत गरिएको थियो ।

केही साताअघि प्रदेश सरकारले ल्याएको दुईवटा अध्यादेशमध्ये ‘प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८’ प्रदेशसभामा स्वीकृत भएपछि सरकारले आइतबार अर्को अध्यादेश पेश गरेको थियो ।

मन्त्री साहले विधेयकको रूपमा आउँदा समय लाग्ने भएकाले सरकारले अध्यादेश ल्याएको बताए ।

प्रमुख प्रतिपक्षि दल लोसपा र नेकपा एमालेले अध्यादेशको विरोध गरेका थिए भने सत्तारूढ दल जसपा, नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रस्तावको पक्षमा सर्मथन जनाएका थिए ।

यसअघि प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठकमा सरकारले कृषि विश्वविद्यालय राजविराज स्थापना सम्बन्धी अध्यादेश बहुमतले पास गरेको थियो ।