प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि विभागीय टोली एपिएफले उचाल्यो

काठमाडौं, ११ पुस । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपिएफले उचालेको छ । एपिएफले आइतबार भएको फाइनलमा साविक विजेता प्रदेश १ लाई ७ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।
यो जितसँगै एपिएफले गत संस्करणको फाइनलमा बेहोरेको हारेको बदला पनि लिएको छ । ६८ रनको सामान्य लक्ष्य एपिएफले १४.२ ओरभमा ३ विकेट गुमाउँदै पूरा ग¥यो । एपिएफका लागि अविजित रहेका ज्योति पाण्डेले ३६ र ममता चौधरीले १९ रनको योगदान दिए । प्रदेश १ का लागि तीनै विकेट कप्तान रुविना क्षेत्रीले हात पारिन् ।
यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनाएको थियो । प्रदेश १ का लागि रुविना क्षेत्रीले सर्वाधिक ३४ र अप्सरी बेगमले ११ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
एपिएफका लागि कप्तान सीता रानामगरले ३, रेखा रावलले २ र करुणा भण्डारीले १ विकेट हात पारे । उपाधिसँगै एपिएफले ५ लाख रुपैयाँ हात पार्दा उपविजेता प्रदेश १ ले ३ लाख रुपैयाँ प्राप्त ग¥यो । प्रदेश १ सुदूरपश्चिम प्रदेशलाई ९ विकेट र एपिएफ लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै फाइनल प्रवेश गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


