संकटा क्लबले ब्रिगेट ब्वाइजलाई ३–० गोल अन्तरले हरायो

काठमाडौं, ११ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आइतबारको पहिलो खेलमा संकटा क्लबले ब्रिगेट ब्वाइज(बीबीसी)लाई ३–० गोल अन्तरले हराएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटाले १२औँ मिनेटमा अग्रता लिएको हो । जोर्डन जुनियर ओनाको पासमा उत्तम राईले हेडरमार्फत गोल गर्दै संकटालाई पहिलो सफलता दिलाएका हुन् ।
खेलको २८औँ मिनेटमा फोडे फोफनाको क्रसमा उत्तम राईले पुनः गोल गर्दै संकटाको अग्रतालाई दोब्बर बनाए । खेलको ३९ औँ मिनेटमा उत्तम राईको पासमा लक्ष्मण रुचालले गोल गर्दै पहिलो हाफमा नै संकटालाई ३–० अवस्थामा पुर्याए ।
दोस्रो हाफमा पनि ब्रिगेट ब्वाइजलाई दबाबमा राख्दै खेलेको थियो । दबाबमा राखे पनि दोस्रो हाफमा संकटाले गोल भने निकाल्न सकेन । बीबीसीका तर्फबाट भने केही प्रयास भए पनि गोल भने हुन सकेन ।
जितसँगै संकटा ६ खेलमा १२ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ भने समान खेलमा मात्र ५ अंक जोडेको बीबीसी १० औँ स्थानमा रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


