काठमाडौं, १० पुस । धुलिखेल नगरपालिकाले ४० वर्ष नाघेका सबै नागरिकको पिसाब परीक्षण गर्ने भएको छ ।

‘स्वस्थ नगर’ अभियानअन्तर्गत समुदायस्तरमा मधुमेह र मिर्गौलाको अवस्था तथा रोग पत्ता लगाउन निःशुल्क पिसाब परीक्षण गर्न लागिएको जनाइएको छ ।

संघीय सरकारले पनि गत असोजमा ४० वर्ष उमेरमाथिका नागरिकको निःशुल्क पिसाब परीक्षण गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मुलुकभरका सबै वडामा पुगेर उनीहरुको पिसाब जाँचिने जनाएको थियो ।

केन्द्रीय सरकारको अभियानपूर्व नै धुलिखेल नगरले आफ्ना नागरिकको पिसाब परीक्षण गर्न लागेको हो । मिर्गौला रोगबाट बचाउनुपूर्व रोकथामका लागि नागरिकको पिसाब परीक्षण गर्न लागिएको नगरप्रमुख अशोक ब्याञ्जुले बताए ।

यही पुस १५ गतेदेखि अभियानका रुपमै प्रारम्भिक चरणका एक हजार २०० नागरिकको पिसाब परीक्षण गरिने नगर स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले जानकारी दिए । उनका अनुसार नगरद्वारा सञ्चालित स्वस्थ शहर कार्यक्रमअन्तर्गत यहाँका ४० वर्ष उमेरमाथिका नागरिकको पिसाब निःशुल्क रुपमा परीक्षण गर्न लागिएको हो ।

यसबाट समुदायस्तरमा रहेका नागरिकको मधुमेह र मिर्गौलाको अवस्था पत्ता लाग्ने जनाइएको छ ।

–फरकधार