जनकपुरधाम, १० पुस । नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनमा पदाधिकारीहरुको मतगणना सम्पन्न भएपनि शुक्रबार मतगणनाको क्रममा देखिएको विवाद भने साम्य भएको छैन ।

निधि–कोइराला समूहबाट महामन्त्री पदका उम्मेदवार नरेश यादवलाई निर्वाचन समितिले एक पटक विजयी घोषणा गरेर फेरी नियोजित ढंगले पछाडी पार्दै उनका निकटतम प्रतिद्वन्द्वी बृहस्पतिकृष्ण श्रेष्ठलाई विजयी घोषणा गरेको आरोप लगाएपछि विवाद सिर्जना भएको हो ।

बृहस्पतिलाई निर्वाचन समितिले विजयी घोषणा गरेर प्रमाणपत्र दिइसकेको अवस्थामा नरेशले परिणाम अस्वीकार गरेपछि विवाद बढ्दै गएको छ ।

महामन्त्री पदमा पराजित भएका नरेशले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचन समितिले आफूलाई षडयन्त्रपूर्वक ढंगले पराजित गरेको आरोप लगाएका छन् । नरेशका अनुसार उनी ७२४ मतका साथ दोस्रो स्थान ल्याएर विजयी भएका थिए भने बृहस्पतिले मात्रै ७२१ मत ल्याएका थिए ।

नरेशलाई पराजित भएको घोषणा भइसकेपछि निर्वाचन समितिले उनलाई विजयी घोषणा गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जबकि निर्वाचन समितिले एक कोठाको मत जोड्न नपाउँदै नरेशलाई विजयी घोषणा गरिएको र त्यो आफूहरुबाट त्रुटी भएको स्वीकार गरिसकेको छ ।

निर्वाचन समितिका अनुसार महामन्त्रीमा उपेन्द्रकुमार यादव ९५९ र बृहस्पतिकृष्ण श्रेष्ठ ७८८ मत प्राप्त गरी विजयी भएका छन् भने नरेशले ७७५ मत प्राप्त गरेका छन् । यता नरेशले ३ वटै कोठाको मत जोडेर मात्रै आफूलाई विजयी घोषणा गरिएको दावी गर्दै भने,‘म विजयी भएको छु, आफूलाई विजयी भएको प्रमाणपत्र निर्वाचन समितिले दिनुपर्छ ।’