प्रधानमन्त्री कपको दोस्रो सेमिफाइनलमा एपिएफको जित

काठमाडौं, १० पुस । प्रधानमन्त्री कप राष्ट्रिय महिला टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनलमा विभागीय टोली एपिएफ विजयी भएको छ ।
एपिएफले शनिबार लुम्बिनी प्रदेशमाथि ३८ रनको जित हात पार्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
१३० रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभर नै ब्याटिङ गरे पनि ५ विकेट गुमाउँदै ९१ रन मात्र बनाउन सक्यो ।
लुम्बिनीका लागि नेरी थापाले अविजित ३८ र नितु भण्डारीले १८ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
एपिएफका लागि रेखा रावलले ३ र कप्तान सीता रानामगरले १ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १२९ रन बनाएको थियो ।
एपिएफका लागि अविजित रहेका रोमा थापाले ४२ र सीता रानामगरले १८ रनको योगदान दिदाँ ममता चौधरीले २७ रन बनाईन ।
लुम्बिनीका लागि नेरी थापा, मधु डिसी र किर्तिका मरासिनीले १–१ विकेट हात पारे । एपिएफले उपाधिका लागि प्रदेश १ को सामना गर्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


