जनकपुरधाम, पुस ९ । प्रदेश २ सरकारका भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले प्रदेशको नाम मधेश नभए राजधानी जनकपुरधाम स्वीकार्य नहुने बताएका छन् ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा बोल्दै यादवले प्रदेशको नाम मधेश नभए राजधानी पनि जनकपुरधाम नहुने बताएका हुन् । उनले प्रदेशको नाम र राजधानी राजनीतिक सवाल रहेको जिकिर समेत गरे ।

उनले भने, ‘राजनीतिक सवालमा राजा जनक र माता जानकीसँग जोडेर बहस गरे कहिल्यै प्रदेशको नाम र स्थायी राजधानी दिन सक्दैनौँ । यदी स्थायी राजधानी र नामको जब चर्चा हुन्छ, अनि जनकपुरधामलाई सहर्ष स्विकार गर्ने भोजपुरावासी, बज्जिकावासीको आत्मामा चोट नपुगाओस यो मेरो मिथिलावासीसँग आग्रह छ ।’ राज्यमन्त्री यादवले नाम र राजधानी दुबै मिथिलाकै पक्षमा नहुने अडानसमेत दोर्होयाए ।

उनले भने, ‘यदी तपाई चाहनुहुन्छ कि चित पनि मेरो र पट्टपनि मेरो तब हुन सक्छ हामी पनि स्थायी राजधानीलाई भन्छौँ भोजपुरा तर्फ लगौँ, यदी मधेश तपाईलाई मधेश पसन्द छैन् भने जनकपुरधामपनि हामीलाई पसन्द छैन् ।’

‘मधेशको सवालमा हामी किन यति अनुदार भईहाल्छौं, प्रश्न गर्दै उनले भने,‘मधेशका लागि भएको आन्दोलमा के मिथिला भोजपुरा अथवा जानकी जनकसँग सम्बन्धित कुनै माग वा मुद्दा थियो ? हाम्रो सिधा सम्बन्ध मधेशको सवालमा थियो ।’

राज्यमन्त्री यादवले मिथिला, जानकी, जनकलगायतका धार्मिक नामलाई राजनीतिक बिषयवस्तु नबनाउन आग्रह गर्दै प्रदेशको नाम मधेश नै उपयुक्त हुने जिकिर गरे ।

उनले प्रदेश सरकारले चारबर्षमा पनि प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन नसक्दा सबैठाउँमा हाँसोको पात्र बनिरहेको समेत स्वीकार गरे ।