जनकपुरधाम, ९ पुस । नेपाली कांग्रेसको प्रदेश २ को नयाँ नेतृत्वका लागि बिहीबार भएको निर्वाचनको मतगणना अवेर रातिदेखि सुरु भएको छ ।

राति १ बजेर ४० मिनेटदेखि सुरु भएको मतगणनामा सुरुमा सभापति र पदाधिकारीको मतगणना भइरहेको छ ।

बिहिबार बिहान करिव साढे ९ बजेबाट सुरु भएको मतदान राति ८ बजेसम्म चलेको थियो । मतदानमा १ हजार ८८१ प्रतिनिधिले मत खसाएका थिए ।

निर्वाचन समितिका संयोजक प्रल्हाद गौतमले दिएको जानकारी अनुसार कूल १ हजार ९३८ प्रतिनिधि रहेकोमा १ हजार ८८१ जनाले मत हालेका छन् । ५७ जना भने अनुपस्थित रहेको उनले बताए ।

मतदानमा चारवटा बुथ राखिएको थियो । सर्लाही–रौतहट बुथमा ४८२ मत खसेको थियो भने धनुषा–महोत्तरी बुथमा ४६६ जनाले मत हालेका थिए ।

त्यस्तै, बारा–पर्साको बुथमा ४६८ मत खस्दा सप्तरी–सिरहाको बुथमा ४६५ मत परेको थियो । निर्वाचन संयोजक गौतमले राति ११ बजेदेखि मतगणना सुरु हुने बताएपनि राति करिव १:४० बजेदेखि मात्र सुरु भएको हो ।

धनुषा र महोत्तरीको बुथमा ४६६ मतदातामा सबै मत खसेको थियो भने सिरहा र सप्तरीको बुथमा ४९४ मतदाता रहेकोमा ४६५, सर्लाही र रौतहटको बुथमा ४९० मतदाता रहेकोमा ४८२ तथा बारा र पर्साको बुथमा ५०९ मतदाता रहेकोमा ४६८ मत खसेको निर्वाचन समितिका संयोजक गौतमले बताए ।

काँग्रेस प्रदेश २ को सभापतिका लागि पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट कृष्ण प्रसाद यादव र निधि–कोइराला पक्षबाट रामसरोज यादव प्रतिस्पर्धामा छन् ।

यस्तै दुई उपसभापतिका लागि ५ जनाबिच प्रतिस्पर्धा छ । देउवा समूहबाट प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर कुमार यादव तथा निधि–कोइराला समूहबाट धनलाल ठोकर र बिनोदकुमार खनाल चुनावमा होमिएका छन् । उपसभापतिमा रामाधार प्रासद यादव भने स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
त्यस्तै, दुई महामन्त्रीका लागि ५ जनाको उम्मेदवारी परेको थियो । निधि–कोइराला समूहबाट नरेश यादव र हरेश महतो तथा देउवा समुहबाट बृहस्पति कृष्ण श्रेष्ठ र उपेन्द्र कुमार यादवले उम्मेदवारी दिएका थिए । बिनोद चौधरीले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए ।

दुई सहमहामन्त्रीका लागि देउवा समूहबाट जयनारायण यादव र परशुराम चौधरी तथा निधि–कोइराला समूहबाट अरविन्द अमात्य र विनोद यादवले उम्मेदवारी दिएका थिए ।

महिलातर्फ १ सहमहामन्त्रीका लागि देउवा समुहबाट रीता यादव उम्मेदवार छन् भने निधि–कोइराला समूहबाट निर्मला सुवेदीले उम्मेदवारी दिएकी थिइन । त्यस्तै सहमहमन्त्री खुल्लाबाट २ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रदेश सदस्य खुल्लामा १४ पदका लागि ५० जना, प्रदेश सदस्य महिला ७ पदका लागि १२ जना, प्रदेश सदस्य खुला प्रत्येक जिल्लाबाट ८ पदका लागि १५ जना, प्रदेश सदस्य प्रत्येक जिल्लाबाट महिला ८ पदका लागि ११ जना, प्रदेश सदस्य खस आर्य १ पदका लागि ४ जना, प्रदेश सदस्य आदिवासी जनजाती खुला १ पदका लागि ३ जना, प्रदेश सदस्य मधेशी खुल्ला ७ पदका लागि १६ जना, प्रदेश सदस्य मधेशी महिला ६ पदका लागि १२ जना, प्रदेश सदस्य दलित खुल्ला ३ पदका लागि १० जना, प्रदेश सदस्य दलित महिला २ पदका लागि ५ जना, प्रदेश सदस्य खुल्ला थारु १ पदका लागि २ जना र प्रदेश सदस्य महिला थारु १ पदका लागि २ जना र प्रदेश सदस्य महिला थारु १ पदका लागि २ जना, प्रदेश सदस्य मुस्लिम खुल्ला २ पदका लागि ५ जना र प्रदेश सदस्य मुस्लिम महिला १ पदका लागि ३ तथा प्रदेश सदस्य अल्पसंख्यक अपांग १ पदका लागि ४ जनाको उम्मेदवारी परेको थियो ।