एजेन्सी, ८ पुस । भारतको पञ्जाब राज्यस्थित लुधियानाको एक अदालतमा बिहीबार दिउँसो बिस्फोट भएको छ ।

लुधियाना अदालतको दोस्रो तलाको वासरूममा भएको बिस्फोटमा परी २ जनाको मृत्यु भएको र ४ जना घाइते भएको इन्डिया टुडेले जनाएको छ ।

बिस्फोटलगत्तै प्रहरी र अग्नि नियन्त्रक अदालतमा पुगेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा ६ तले अदातल भवनबाट धुँवा आइरहेको देखिन्छ ।

लुधियाना अदालतमा बिहीबार वकिलहरूको बन्द थियो । त्यही भएर बिस्फोटका बेला अदालतमा धेरै मानिस थिएनन् ।

बिस्फोट कसरी भयो र कसले गरायो भन्ने बिषयमा केही खुल्न सकेको छैन ।