काठमाडौं, ७ पुस । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा प्रदेश २ ले पहिलो जित हात पारेको छ । उसले बुधबारको खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले हराएको हो ।

४० रनको विजयी लक्ष्य प्रदेश २ ले १०.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि साना प्रविनले सर्वाधिक १३ र अनुराधा चौधरीले १२ रनको योगदान दिए ।

गण्डकीका लागि शिला क्षेत्रीले १ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको गण्डकीले १७.१ ओभरमा सबै विकेट गुमाउँदै ३९ रन बनाएको थियो ।

गण्डकीका लागि अञ्जली विश्वकर्माले सर्वाधिक १५ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

गण्डकीलाई सस्तैमा समेट्न सन्तोषी चौधरीले ३, अनुराधा चौधरीले २ तथा सरस्वती कुमारी र रोजी कदारीले १–१ विकेट हात पार्दा ३ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यो जितसँगै २ खेलमा २ अंक जोडेको प्रदेश २ ले सेमिफाइनल सम्भावनालाई जीवितै राख्दा लगातार दोस्रो पराजय बेहोरेको गण्डकी भने प्रतियोगिताबाट बाहिरिएको छ ।