जनकपुरधाम, ६ पुस । प्रदेश नम्बर–२ को नाम र राजधानी सम्बन्धमा प्रदेशसभा भित्र रहेका दलहरुसँग छलफल तथा सहमति निर्माण गर्नका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले संसदीय वार्ता टोली गठन गरेको छ ।

आगामी बैठकमा प्रदेशको नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुरधाम’ हुने गरी छलफल तथा सहमति गर्न लोसपा नेपालले वार्ता टोली गठन गरेको हो ।

लोसपा नेपाल संसदीय दलको निर्णय अनुसार प्रदेशको नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुरधाम’का लागि प्रदेशसभा भित्र रहेका दलहरुसँग छलफल तथा सहमति निर्माण गर्न प्रदेशसभा सदस्य रानी शर्मा तिवारीको संयोजकत्वमा वार्ता टोली गठन गरिएको लोसपा नेपाल प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनलले जानकारी दिए ।

वार्ता टोलीको सदस्यहरुमा प्रदेशसभा सदस्य परमेश्वर साह, जैनुल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रहलाद गिरी रहेका छन् ।

नेता सोनलले वार्ता टोलीले सबै दलसँग छलफल सम्वाद गरि सहमतिमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

बिहीबार बस्ने प्रदेश सभाको आठौं अधिवेशनको दोस्रो बैठकमा प्रदेशको नाम र राजधानी सम्बन्धी प्रस्ताव पेश हुने बताइएको छ ।