काठमाडौं, ६ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा धनुषाकी मुक्ताकुमारी यादवले सर्वाधिक मत प्राप्त गरेकी छन् ।

७३ पदको मतगणना सकिएर अहिलेसम्म आएका परिणाममा यादवले सबैभन्दा बढि मत ल्याएकी छन् ।

मधेशी महिलातर्फ एक नम्बरमा केन्द्रीय सदस्यमा विजयी भएकी मुक्ताले खसेको ४ हजार ६७१ मतमा ३ हजार ९६९ मत प्राप्त गरेकी छन् । अर्थात मुक्ताले झण्डै ८५ प्रतिशत मत ल्याएकी छन् । अहिलेसम्म गणना भएको मतको परिणाममा निर्वाचित उम्मेदवारले प्राप्त गरेको यो सबैभन्दा धेरै मत हो ।

यसअघि खुला केन्द्रीय सदस्यतर्फ निवर्तमान महामन्त्री शशांक कोइरालाले ३ हजार ८३६ मत प्राप्त गरेका थिए । शशांकभन्दा पनि अगाडि बढेर मुक्ताले १३३ मत बढी ल्याइन् । मुक्ताले लोकप्रिय ३ हजार २३ मत पाएका महामन्त्री गगन थापालाई पनि पछि उछिनेकी छन् ।

२ हजार ७३३ मत पाएर निर्वाचित सभापति शेरबहादुर देउवालाई पनि उछिनेकी मुक्ताले कसरी यति धेरै मत ल्याइन् भनेर कांग्रेसमा चर्चा सुरु भएको छ ।

यसको पछाडिको कारण भनेको मुक्ता उम्मेदवारी दिँदा कुनै समूहमा खुलेकी थिइनन् । सामाजिक सञ्जालमासमेत उम्मेदवारीको जानकारी गराउँदा मुक्ताले समूह खुलाएकी छैनन् ।

मधेसी महिलातर्फ समूहगत उम्मेदवारको नामावली हेर्ने हो भने सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र उपसभापति विमलेन्द्र निधि गरेर तिनवटै प्यानलमा उनको नाम थियो । त्यसैकारण आफूलाई सर्वाधिक मत आएको उनको निष्कर्ष छ ।

धनुषा क्षेत्र नम्बर २ स्थित शहीदनगर–१ बालाबाखर निवासी ४४ वर्षीया यादव संविधानसभा सदस्य एवं राष्ट्रियसभा सदस्यको २ वर्षे कार्यकाल पूरा गरेकी निवर्तमान सदस्य हुन् ।