जनकपुरधाम, ६ पुस । नेपाली काँग्रेसको प्रदेश २ सभापतिका लागि प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र र रौतहटका जिल्ला सभापति कृष्ण यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

जनकपुरधामस्थित गोपाल धर्मशालामा रहेको मतदानस्थल पुगेर रामसरोज र कृष्णले उम्मेदवारी दर्ता गराएका हुन् । सभापतिमा उम्मेदवारी दिएका रामसरोजलाई नेता विमलेन्द्र निधि र कृष्णलाई पार्टी सभापति शेरबहादुर देउवाको समर्थन रहेको छ ।

रामसरोजले आफू कुनै गुटबाट नभई नेपाली कांग्रेसबाट उम्मेदवारी दिएको बताए । उनले भने,‘मलाई सबैको समर्थन रहेकोले मेरो जित सुनिश्चित छ । कांग्रेस भित्र गुट उपगुट समाप्त पारेर पार्टीलाई मजबुत बनाउनकै लागि मैले उम्मेदवारी दर्ता गराएको छु ।’

संस्थापन पक्षबाट कृष्ण यादवले प्यानल नै बनाएर उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्यानलबाट प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह र उपेन्द्र यादवले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गराएपश्चात सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै कृष्णले आफू निर्वाचित भए पार्टीलाई मजबुत बनाउने आफ्नो लक्ष्य रहेको बताए । उनले कांग्रेसका सबै नेता कार्यकर्तालाई साथ लिएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

निर्वाचनबाट प्रदेश सभापति, दुई उपसभापति, एक महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरू चयन गर्नेछ ।