एजेन्सी, ६ पुस । इङ्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्ना खेलाडी ज्याक ग्रेलिस र फिल फोडेनलाई मैदानबाहिरको बानीव्यहोरा सुधार गर्न चेतावनी दिएका छन् ।

आइतबार सिटीले न्युक्यासल युनाइटेडमाथि ४–० को जित हात पारेको खेलमा दुवै खेलाडी पहिलो रोजाइमा पर्न सकेका थिएनन् ।

गत मंगलबार सिटीले लिड्स युनाइटेडमाथि ७–० को फराकिलो जित हात पारेपछि उनीहरू दुवै नाइट क्लब गएको तस्बिर ‘दि टेलिग्राफ’मा सार्वजनिक भएको थियो ।

‘म मैदान भित्र र बाहिर खेलाडीले देखाउने बानीव्यहोरामा विशेष ध्यान दिन्छु’, ग्वार्डिओलाले भने, ‘जब खेलाडीले मैदान बाहिर बानीव्यहोरा भुल्छन्, उनीहरूले टोलीमा स्थान बनाउन सक्दैनन् । त्यसैले खेलाडी आफ्नो खेलमा मात्र केन्द्रित हुनुपर्छ ।’