एजेन्सी, ६ पुस । फिलिपिन्समा आइतबार आएको भयानक आँधीमा परी हालसम्म ३७५ जनाको मृत्यु भएको छ ।

लगभग १९५ किलोमीटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण फिलिपिन्सको दक्षिणपूर्वी क्षेत्रका ४ लाखभन्दा बढी जनता प्रभावित भएका छन् ।

स्थानीय प्रहरीका अनुसार आँधीका कारण कम्तिमा पनि ५ सय मानिस घाइते भएका छन् भने ५६ जना हाल वेपत्ता रहेका छन् ।

धेरै स्थानमा सञ्चार विच्छेद भएका कारण क्षतिको विवरण अझै आउन बाँकी रहेको जनाइएको छ । आँधीपछि आएको पहिरो र बाढीले पनि ठूलो जनधनको क्षति गरेको अनुमान गरिएको छ ।

‘कयौं क्षेत्रमा बिजुली छैन, सञ्चार छैन र पिउने पानी पनि ज्यादै कम छ,’ फिलिपिन्स रेडक्रसका अध्यक्ष रिचर्ड गार्डनले भने ।

–बिबीसी