काठमाडौं, ५ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालका अध्यक्ष महन्थ ठाकुरले जिल्ला तथा प्रदेशमा गरेको मनोनयनका विषयलाई लिएर पार्टीभित्र विवाद बढ्दै गइरहेको छ । ठाकुरले गरेको मनोनयनप्रति असन्तुष्ट पक्षले पार्टी कार्यालयमै तालाबन्दी गर्ने तयारी गरेको छ ।

पछिल्लो समय लोसपा नेपालभित्र अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षबीच द्वन्द्व बढ्दै गइरहेको सो पार्टीका नेताहरु बताउँछन् । अध्यक्ष ठाकुरले गरेको पछिल्लो मनोनयनप्रति महतोपक्ष असन्तुष्ट देखिएको छ । आन्तरिक द्वन्द्वकै क्रममा असन्तुष्ट पक्षले पार्टी कार्यालयमा तालाबन्दीको तयारी गरिरहेको स्रोतको भनाइ छ ।

अध्यक्ष ठाकुरले मंसिर २५ गते प्रदेश २ को लोसपा अध्यक्षमा जितेन्द्र सोनललाई मनोनयन गरेपछि जनकपुरधाममा लोसपाका ३० जना नेता तथा कार्यकर्ताले तत्कालै विज्ञप्ति जारी गर्दै विरोध जनाएका थिए । स्रोतका अनुसार पार्टीका वरिष्ठ नेता महतोकै इशारामा उनीहरुले विज्ञप्ति जारी गरेका थिए । यसरी विज्ञप्ति जारी गर्ने समूह नै अब काठमाडौँ आएर बबरमहलस्थित पार्टी कार्यालयमा धर्ना बस्ने तयारीमा जुटेको छ ।

लोसपा नेतृ विभा ठाकुरले भनिन्, ‘एकल ढंगबाट भइरहेको मनोनयनको विरुद्ध हामी संघर्षरत छौं, पार्टीका नेतृत्व पंक्तिले त्यसलाई अझै सुधार गरेको छैन । शनिबार हामीहरु पार्टी कार्यालयमा धर्ना बस्न गइरहेका छौं ।’

सामूहिक निर्णयका आधारमा पार्टी सञ्चालन गर्ने गरी आफूहरुले एकल नेतृत्वका लागि म्याण्डेट दिए पनि नेतृत्व वर्गले मनोमानी गरिरहेकोले बाध्य भएर आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको उनको भनाइ छ । आफूहरुले पार्टी केन्द्रीय कार्यालयमा धर्ना बस्ने, लालटेन प्रदर्शन गर्नेलगायत विभिन्न सांकेतिक विरोधका कार्यक्रम गर्ने, त्यसका बाबजुद माग सुनुवाई नभए पार्टी कार्यालयमा तालाबन्दी गर्ने उनले बताइन् ।

‘यो कुनै पक्षको आन्दोलन होइन, पार्टीमा देखिएको विकृति विरुद्धको आन्दोलन हो,’ उनले भनिन्, ‘तीन÷चार जनाले मिलेर पार्टी चलाउन खोजे, आफ्ना आसेपासेलाई मनोनित गर्न थाले ।’

कसैलाई एउटा पनि पद नदिइएको तर कसैलाई तीन–तीनवटा पद दिएर पार्टीमा अराजकता निम्त्याइएको उनले बताइन् । आफू २०५१ सालदेखि मधेस राजनीतिमा सक्रिय रहेको तर पार्टीले अझै मूल्याङ्कन नगरेको कारण दुःख लागेको उनले बताइन् ।

‘लामो समयदेखि पार्टीमा क्रियाशील भएर काम गरिरहेको छु,’ उनले रातोपाटीसँग भनिन्, ‘पार्टीमा यत्रो योगदान दिँदा पनि भोटर र आन्दोलनकारीभन्दा बढी केही हुन सकिएन, त्यसले दुःख लाग्छ ।’ जो पार्टीमा थिएन, आन्दोलनमा कुनै योगदान थिएन, त्यस्ता व्यक्तिहरु अहिले पार्टीका नेता बन्न थालेको उनको गुनासो छ ।

–रातोपाटी