क्यान र खेलाडीबीचको विवाद मिलाउन सिप्यानको आग्रह

काठमाडौं, ५ पुस । नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीच पछिल्लो समय भएको विवाद मिलाउन क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आग्रह गरेको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै सिप्यानले खेलाडीको सेन्ट्रल कन्ट्रयाक्ट वर्गीकरणको विषयलाई लिएर हाल देखिएको क्यान र खेलाडीबीचको विवादप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
सिप्यानले खेलाडीहरूले आफ्ना भावना तथा आवाज अगाडि राख्न खोज्दा मागको उचित सम्बोधन गर्नुको सट्टा खेलाडीहरूमाथि नै गरिएका कारबाहीले क्रिकेट विकासमा अवरोध पुग्ने अवस्था सिर्जना भएको बताएको छ ।
‘क्रिकेट खेलाडीहरूको योगदानको फलस्वरूप आजको दिनमा नेपाली क्रिकेटले विश्व क्रिकेट जगतमा विशेष पहिचान बनाउन सफल भएको कुरा सबैमा विदितै छ । तथापि खेलाडीहरूले आफ्ना भावना तथा आवाज अगाडि राख्न खोज्दा ती मागको उचित सम्बोधन गर्नुको सट्टा खेलाडीहरूमाथि नै गरिएका कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्न जाने अवस्था सृजना भएको छ,’ अध्यक्ष मनिषराज पाण्डे र महासचिवसमेत रहेका पूर्वकप्तान पारस खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यस्तै, सिप्यानले वर्गीकरणलाई पारदर्शी रूपमा निश्चित मापदण्ड तोकेर अवलम्बन गर्दै तर्कसम्मत र त्रुटिरहित बनाउन तथ्यपरक, वस्तुपरक र वैज्ञानिक बनाइनुपर्ने आवश्यकता रहेको बताएको छ ।
‘सिप्यानबाट गत वर्ष पनि क्यान र राष्ट्रिय राष्ट्रिय खेलकुद परिषद्लाई क्रिकेट खेलाडीसँग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुमा वर्गीकरणसम्बन्धी दिइएको सुझाव आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ । वर्गीकरण जस्तो महत्वपूर्ण विषयवस्तुलाई पारदर्शी रूपमा निश्चित मापदण्ड तोकेर अवलम्बन गर्दै तर्कसम्मत र त्रुटिरहित बनाउन तथ्यपरक, वस्तुपरक र वैज्ञानिक बनाइनुपर्ने आवश्यकता पुनः दोहो¥याउन जरुरी देखिन्छ ।’
गत २९ मंसिरमा बसेको क्यानको बोर्ड बैठकले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गरेको थियो भने दुई खेलाडीसँगै कमलसिंह ऐरी र सोमपाल कामीलाई २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सुरुको ६ महिनाका लागि सहभागिता नगराउने निर्णय गरेको थियो ।
चारै खेलाडीलाई विधानविपरीत मिडियामा बोलेको र आचारसंहिता उल्लङ्घन गरेका कारण कारबाही गरेको क्यानले जनाएको छ ।
सिप्यानले क्यान र खेलाडीहरूको बीचमा रहेको यस विषयसँग सम्बन्धित तिक्तता मेटाई खेलाडीहरूको मनोबल उच्च बनाइराख्न र समग्र नेपाली क्रिकेटको भलो हुने कदम उठाउनुपर्ने आवश्यकता रहेको बताएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


