एजेन्सी, ५ पुस । अत्यधिक जाडो बढिरहेका बेला जम्मु–कश्मीरमा विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत विकास विभागका हजारौं कर्मचारीले अनिश्चितकालीन हड्ताल गरेपछि विद्युत सेवा अवरुद्ध भएको हो ।

चिसो मौसममा विद्युत सेवा अवरुद्ध भएपछि सुचारु गर्न सेना बोलाइएको भारतीय समाचार माध्यमले जनाएका छन् । जम्मु–कश्मीरको प्रशासनले रक्षा मन्त्रालयलाई सहयोगका लागि पत्र देखेपछि कैयौं स्थानमा सेना परिचालन गरिएको छ ।

सरकारी स्वामित्वमा रहेको विद्युत विकास विभागका २० हजार कर्मचारीहरू शुक्रबार रातिदेखि अनिश्चितकालीन हड्तालमा उत्रिएका छन् ।

जम्मु–कश्मीरको विद्युत विकास विभागलाई पावर ग्रिड कर्पोरेशन अफ इन्डियामा गाभ्ने र विभागको सम्पत्ति निजी कम्पनीलाई बेच्ने सरकारी कदमको विरोध गर्दै उनीहरू हड्तालमा उत्रिएका हुन् ।

कर्मचारीको हड्ताललगत्तै जम्मु–कश्मीरका कैयौं जिल्लामा विद्युत अवरुद्ध भएको थियो । सरकारले विद्युत विभागको सम्पत्ति निजीकरण गर्ने कदम फिर्ता नलिएसम्म काममा नफर्किने कमर्चारीको भनाइ छ ।