प्रधानमन्त्री कप: प्रदेश १ र लुम्बिनी सेमिफाईनलमा

कैलाली, ४ पुस । प्रधानमन्त्रीकप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत प्रदेश नम्बर १ र लुम्बिनी प्रदेश सेमिफाईनलमा प्रवेश गरेका छन् ।
समुह ‘ए’ तर्फको आफ्ना दुबै खेलमा जित हात पार्दै लुम्बिनी र प्रदेश १ अन्तिम चारमा पुगेका हुन् । प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई १० विकेटले हराएको छ भने प्रदेश १ ले बागमतीलाई रनले हरायो ।
टस जितेर पहिले ब्याटिङ गर्दै कर्णाली प्रदेशले हुस्सु र शितलहरका कारण ६ ओभरमा खेलाईएको खेलमा १७ रन बनायो । कर्णालीले निर्धारित ६ ओभरमा ३ विकेट क्षतिमा १७ रन बनायो । कर्णालीका लागि कप्तान आयुशा टण्डनले ७ रन र दिक्षा पुरीले अविजित ७ रन बनाईन् । लुम्बिनी प्रदेशका लागि सुस्मिता भुषालले २ र नेरी थापाले एक विकेट लिईन् । कर्णाली प्रदेश यसअघि भएको खेलमा प्रदेश १ बाट ६ रनमा अलआउटमा भएको थियो ।
कर्णाली प्रदेशले दिएको १८ रनको लक्ष्य लुम्बिनीले विना विकेट क्षति पुरा गर्यो । ३ दशमलव १ ओभरमा कुनै विकेट नगुमाउँदै लुम्बिनीलाई सानदार जित दिलाउन लक्ष्मी चौधरीले १२ रन बनाईन् । लुम्बिनीका लागि नेरी थापाले ५ रन बनाईन् । खेलमा दुई विकेट लिएकी लुम्बिनी प्रदेशकी सुस्मिता भुषाल प्लयर अफ द म्याच भईन् ।
प्रदेश नम्बर १ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । दोस्रो दिनको दोस्रो खेलमा बागमति प्रदेशलाई ५५ रनले हराउँदै प्रदेश नम्बर १ सेमिफाईनल पुगेको हो ।
टस जितेर पहिले ब्याटिङ गर्दै प्रदेश नम्बर १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११४ रन बनायो । प्रदेश नम्बर १ का लागि अप्सरी वेगमले अविजित अर्धशतकीय पारी खेलिन् । ६२ वलको सामना गरेकी उनले ५१ रन बनाईन् । त्यस्तै स्मृति कटुवालले २० र सबनभ राईले १५ रन बनाईन् । वागमति प्रदेशका लागि अस्मिना कर्माचार्य र खुशी डंगोलले दुई दुई विकेट लिईन् ।
११५ रनको विजयलक्ष्य पछ्याएको वागमतिप्रदेश २० ओभरमा८ विकेट गुमाउँदै ५९ रनमा समेटियो । वागमतिका लागि सुमन खतिवडाले प्रतियोगिताको पहिलो छक्का सहित २१ रनको पारी खेले पनि टीमलाई जिताउन सकिनन् । कप्तान अस्मिना कर्माचार्यले १० रन बनाउनु वाहेक अन्य खेलाडीहरुले दोहोरो रन अंक छुन सकेनन् । वागमतिका ५ जना खेलाडी रन आउट भए । कप्तान रुविना क्षेत्री, ज्योती डनुवार र अलिशा खाडियाले एक एकविकेट लिईन् । खेलमा अर्धशतकीय पारी खेलेकी प्रदेश १ की अप्सरी वेगम प्लेयर अफ द म्याच भईन् ।
प्रतियोगिताको समुह ए मा रहेका वागमति प्रदेश र कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन् । दुबै प्रदेश समुह चरणका खेलेकादुबै खेलमा पराजित हुदैं प्रतियोगिता बाट बाहिरिएका हुन् । कर्णाल ीप्रदेश पहिलो खेलमा प्रदेश १ सँग १६० रनले पराजित भयो भने दोस्रो खेलमा लुम्बिनी प्रदेशसँग १० विकेटले हार्यो । वागमति प्रदेश पनि लुम्बिनी प्रदेश सँग ७ विकेट र प्रदेश नम्बर १ सँग ५५ रनले हार व्यहोर्दै प्रतियोगिताबाट वाहिरिएको हो ।
प्रतियोगिताको तेस्रो दिन अर्थात भोलि दुई वटा खेल हुनेछन् । पहिलो खेलमा घरेलु टोली सुदूरपश्चिम र विभागीय टोली एफिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । अर्को खेलमा गण्डकी प्रदेश र प्रदेश नम्बर २ खेल्नेछन् । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता पुस ११ गतेसम्म सञ्चालन हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


