काठमाडौं, ३ पुस । प्रधानमन्त्री कप राष्ट्रिय महिला टि–२० क्रिकेट प्रतियोगितामा साविक विजेता प्रदेश १ ले शानदार शुरुवात गरेको छ ।

प्रदेश १ ले शनिबारको उद्घाटन खेलमा कर्णाली प्रदेशमाथि १६० रनको फराकिलो जित हात पारेको हो । १६७ रनको लक्ष्य पछ्याएको कर्णालीले ११ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ६ रन मात्रै बनाउन सक्यो ।

कर्णालीका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान आयुशा तन्डनले सर्वाधिक ३, अन्शु शाक्य र लक्ष्मी रिमालले १–१ रन जोडे अन्यले रनको खातासमेत खोल्न सकेनन् ।

कर्णालीलाई सस्तैमा समेट्न अलिसा खडियाले ५, सङ्गिता राईले २ र सवनम राईले १ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै १६६ रन बनाएको थियो ।

पारीको पहिलो बलमै विकेट गुमाए पनि कप्तान रूविना क्षेत्री र अप्सरी बेगमले दोस्रो विकेटका लागि १६६ रनको उत्कृष्ट साझेदारी गर्दै प्रदेश १ लाई बलियो योगफलसम्म पुर्याएका थिए ।

रूविनाले ६४ बलमा १० चौकाको मदतले ७६ रन बनाइन् । ६१ रनमा अविजित रहकी अप्सरीले ६२ बलको सामना गर्दै ५ चौका प्रहार गरिन् ।

कर्णालीका लागि दुवै विकेट दिव्या धामीले लिइन् ।