काठमाडौं, ३ पुस । प्रधानमन्त्री कप राष्ट्रिय महिला टि–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी शुरुवात गरेको छ ।

लुम्बिनीले शनिबार बागमती प्रदेशमाथि ७ विकेटको सहज जित हात पारेको हो । ७६ रनको सामान्य लक्ष्य लुम्बिनीले १२ ओभर ५ बलमा ३ विकेट गुमाउँदै पूरा गर्याे ।

लुम्बिनीका लागि कप्तान सरस्वती जिएमले अविजित २९ रनको योगदान दिइन् । नितु भण्डारीले १४ रन जोड्दा सरस्वती पुन ९ रनमा अविजित रहिन् ।

बागमतीका लागि अस्मिना कर्माचार्य, आरती बिडारी र खुशी डंगोलले १–१ विकेट लिए ।

यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ७५ रन बनाएको थियो ।

बगमतीका लागि हेलिसा गुरूङले सर्वाधिक २८ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका लागि मधु डिसीले ३, सुस्मिता भुषालले २ तथा नेरी थापा र स्वस्तिका बजगाँईले १–१ विकेट हात पारे ।