खेलाडीमाथि गरिएको कारबाहीबारे पुनर्विचार गर्न मन्त्री गहतराजको आग्रह

काठमाडौं, २ पुस । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीबारे पुनर्विचार गर्न आग्रह गरेका छन् ।
शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूलाई मन्त्रालयमा बोलाएर मन्त्री गहतराजले कारबाहीको निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेका हुन् ।
क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको भन्दै मन्त्री गहतराजले खेलाडीलाई संरक्षणन गर्नुपर्ने बताए । क्यान र खेलाडीबीच देखिएको समस्या समाधानका लागि उपर्युक्त विधि अपनाउनुपर्ने बताउँदै उनले खेल क्षेत्रमै आफ्नो ऊर्जावान समय खर्चिएका खेलाडीलाई गरिएको कारबाहीले गलत सन्देश प्रवाह भएको भन्दै चिन्तासमेत व्यक्त गरे ।
मन्त्री गहतराजले आगमी दिनमा हुन गइरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गर्दै तत्काल देखिएका समस्या समाधान गर्न क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहितका पदाधिकारीलाई निर्देशनसमेत दिए । त्यस क्रममा उनले खेलाडीको वर्गीकरण प्रक्रियाका विषयमा समेत चासो लिएका थिए ।
गत मंसिर २९ गते नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


