‘ए’ डिभिजन लिगअन्तर्गत शुक्रबारको खेल बराबरीमा सकियो

काठमाडौं, २ पुस । त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शुक्रबार भएको खेल बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् । खेलको ११औं मिनेटमा दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाए ।
आर्मीको अग्रता लामो समय टिकेन । पाँच मिनेटपछि नै सातादोबाटोले खेललाई बराबरीमा ल्यायो । टोलीका लागि मार्टिन्स अजयीले गोल गरे । सुस्त शुरुवात भएको दोस्रो हाफमा दुवै टिमले केही अवसर पाए त्यसलाई सदुपयोग गर्न सकेनन् ।
खेलको ६६ औं मिनेटमा सातदोबाटोका कप्तान मानबहादुर तामाङको लङपासमा आदित्य शाक्यले हेडरमार्फत् गोलको प्रयास गरे पनि त्यो सफल भएन ।
खेलको ६९ औं मिनेटमा आर्मीका विवेक बस्नेतले सातदोबाटोको पेनाल्टी बक्सभित्रबाट दिएको ब्याक पासमा सन्तोष तामाङले लाइनबाट गरेको प्रहार क्रसबारको नजिकैबाट बाहिरिएको थियो ।
यो बराबरीसँगै आर्मी ५ खेलमा ९ अंक जोड्दै तेस्रो स्थानमा कायम रहँदा ८ अंक जोडेको सातदोबाटो चौथो स्थानमा उक्लिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


