एजेन्सी, १ पुस । एकैदिन ७ जनामा ओमिक्रोन संक्रमण भेटिएपछि भारतको आर्थिक राजधानी मुम्बईमा २ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । मुम्बईमा बुधबार ७ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको थियो ।

बिहीबारदेखि डिसेम्बर ३१ सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको मुम्बई प्रहरीले जनाएको छ । कोरोनालाई फैलिनबाट रोक्न भन्दै फौजदारी कानुन ‘क्रिमिनल प्रोसिजर कोड’को खण्ड १४४ बमोजिम डिसेम्बर १६ देखि ३१ सम्म निषेधाज्ञा जारी गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बिहीबारदेखि लागू हुने निषेधाज्ञाभर ठूला जमघट गर्न पाइने छैन भने सार्वजनिक भेटघाटमा ५ जनाभन्दा बढी मानिस सहभागी हुन बन्देज लगाइएको छ । त्यस्तै, कुनै पनि समारोह वा कार्यक्रम गर्दा कार्यक्रम स्थलको ५० प्रतिशत क्षमता अनुसार मानिसहरू सहभागी गराउनुपर्ने र आयोजकले पूर्ण कोरोना खोप लगाएको हुनुपर्ने छ ।

यसबाहेक, पसल, मल, समारोह वा जमघटमा सहभागी मानिसले पूर्ण खोप लगाएको हुनुपर्ने छ । सार्वजनिक सवारीमा यात्रा गर्ने मानिसले समेत पूर्ण खोप लगाएको हुनुपर्ने छ । साथै, महाराष्ट्रमा आउने मानिसले समेत पूर्ण खोप लगाएको हुनुपर्ने र ७२ घण्टाभित्रको नेगेटिभ पीसीआर रिपोर्ट देखाउनुपर्ने छ ।

भारतमा अहिलेसम्म ७३ जनामा ओमिक्रोन पुष्टि भइसकेको छ । जसमध्ये महाराष्ट्रमा माात्रै ३२ जना छन् ।