कृषि विश्वविद्यालयका लागि ३१ करोड रुपैयाँ अनुदान दिने प्रदेश सरकारको निर्णय

जनकपुरधाम, १ पुस । प्रदेश नम्बर २ सरकारले कृषि विश्वविद्यालयलाई ३१ करोड रुपैयाँ अनुदान दिने भएको छ ।
बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत स्थापना गर्न लागेको प्रदेश कृषि विश्वविद्यालयको तयारीका लागि ३१ करोड रुपैयाँ अनुदान दिने सरकारले निर्णय गरेको हो ।
सप्तरीमा स्थापना गर्न लागेको कृषि विश्वविद्यालयको तयारीका लागि सो रकम दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।
प्रदेश सरकारले कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिसके पनि आवश्यक भौतिक पूर्वाधार अगाडि बढ्न सकेको छैन ।
अर्थमन्त्री साहले विश्वविद्यालयको भौतिक पूर्वाधार विकासको लागि अनुदान दिइने निर्णय भएको बताए । विश्वविद्यालयको आवश्यक भौतिक पूर्वाधार विकासको लागि पहिलो चरणमा उक्त अनुदान दिइएको उनले जानकारी दिए ।
मन्त्रिपरिषद्ले ‘बेटी पढाउ बेटी बचाउ’ अभियान सञ्चालनको जिम्मा पाएको सामाजिक विकास मन्त्रालयले तयारी गरेको कार्यविधिलाई परिमार्जनसहित पारित गरेको छ । त्यस्तै बन्द रहेको छोरी बीमा अभियानलाई पुनः सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै प्रदेश सरकारले प्रदेशका सम्पूर्ण जिल्ला अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ ।