बेलायतमा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै

एजेन्सी, १ पुस । बेलायतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । त्यहाँ दैनिक संक्रमितको संख्या महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेको छ ।
बुधबार बेलायतमा ७८ हजार ६१० जना नयाँ संक्रमित थपिएका छन् । जुन महामारी सुरु भएयताकै धेरै हो । हालसम्म त्यहाँ कुल १ करोड १० लाखभन्दा मानिसमा कोरोना भाइरस पुष्टि भएको छ ।
बेलायतभर नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित समेत बढ्न थालेका छन् । निकै संक्रामक मानिएको ओमिक्रोनका संक्रमित बढ्न थालेपछि प्रधानमन्त्री बोरिस जोनसनले संक्रमणको व्यापक लहर सुरु हुने चेतावनी दिइसकेका छन् ।
कोरोना संक्रमितको दैनिक संख्या हालसम्मकै उच्च बिन्दुमा पुगेपछि बेलायती अधिकारीले सामाजिक जमघट गर्दा सतर्क हुन पनि भनेका छन् । जोनसन र इङल्याण्डका प्रमुख मेडिकल अधिकृत प्राध्यापक क्रिस विट्टीले मानिसहरूलाई अनावश्यक रुपमा भेला नहुन अपिल गरेका छन् ।
बेलायतमा हालसम्म ओमिक्रोनबाट १० हजारभन्दा संक्रमित भइसकेका छन् । यसमध्ये एकजना संक्रमितको मृत्यु भएको छ ।