जनकपुरधाम, २९ मंसिर । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेकपा एमाले दक्षिणपन्थी विसर्जनवादी पार्टी रहेको बताएकी छन् ।

बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री झाँक्रीले एमाले विघटन भएसंगै एकीकृत समाजवादी थप मजबुत र संगठित हुने दाबी गरिन् ।

एकीकृत समाजवादीकी सचिव समेत रहेकी मन्त्री झाँक्रीले चितवनमा एमालेले गरेको १० औँ महाधिवेशनले विधान सम्मेलनलाई लत्याउँदै भिड जम्मा गरेर विचार, संगठन रुपान्तरण गर्नबाट चुकेको बताइन् ।

संसद चल्न नदिएकोप्रति टिप्पणी गर्दै उनले प्रमुख प्रतिपक्षी दल एमालेको भुमिका रचनात्मक हुनुपर्ने अपरिहार्यता रहेपनि पटक पटक संसद विघटनकै कारण संसदप्रति वास्ता नगरेको आरोप लगाइन् ।

अहिले एमालेले गरिरहेको संसद अवरुद्धले केहि फरक नपर्ने बताउँदै उनले भनिन्, ‘पटक पटक एमालेले संसद विघटन गर्दै आएकोले एमाले लोकतान्त्रिक मूल्यमान्यतामा आधारित संसदीय व्यवस्थाप्रति प्रतिवद्ध छैन ।’

मन्त्री झाँक्रीले ०७१ देखि ०७८ सालसम्म एमालेको नेतृत्व गर्दै आएका केपी शर्मा ओलीले राजनीतिक समिक्षा, संसद विघटन संवैधानिक वा असंवैधानिकलगायतका विभिन्न क्रियाकलापको सिंहावलोकन समेत नगरेर मानवीय संवेदना नै नभएका अमानवीयहरुको भिड जम्मा गरेको आरोप लगाइन् ।

उनले बुधबार जनकपुरधाममा तीन वटा प्रादेशिक प्रयोगशाला भवनलगायतका शिलान्यास तथा उद्घाटन समेत गरिन् ।