बोका जुनियर्सले उचाल्यो म्याराडोना कपको उपाधि

एजेन्सी, २९ मंसिर । अर्जेन्टिनी क्लब बोका जुनियर्सले स्पेनिस क्लब बार्सिलोनालाई ट्राइब्रेकरमा ४–२ ले पराजित गर्दै म्याराडोना कपको उपाधि उचालेको छ ।
साउदी अरेवियाको रियादस्थित किङ साउद युनिभर्सिटी स्टेडियम मंगलबार भएको खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि विजेताको टुंगो ट्राइब्रेकरबाट लगाईएको हो । जसमा बोका जुनियर्सले बाजी मा¥यो ।
पेनाल्टीमा बोका जुनियर्सका मार्कोस रोजो, कार्लोस रोबर्टो इजक्वाएरडोज, क्रिस्टियन पाभोन र आरोना मोलिनासले गोल गरे ।बार्सिलोनाका ड्यानी आल्भेस र फेरान जुटग्ला गोल गर्दा म्याथिअस पेरेइरा र गुइलेम जेइमीले गोल गर्न सकेनन् ।
सुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोना पराजित हुन पुग्यो । खेलको ५२ औं मिनेटमा फेरान जुटग्लाको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । उनले फिलिपे कौटिन्होको पासमा गोल गरेका थिए ।
७७ औं मिनेटमा एक्सक्वेल जेवाललोसल फ्रान्क फाब्राको पासलाई सदुपयोग गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल ट्राइब्रेकरसम्म पुगेको हो ।
यही खेलमार्फत ब्राजिलियन डिफेन्डर ड्यानी आल्भेसले दोस्रोपटक बार्सिलोनाका लागि डेब्यु गरे । सन् सन् २००८ देखि २०१६ सम्म बार्सिलोनामा बिताएका आल्भेस यही सिजन क्याम्प नोउ फर्किएका हुन् ।
यो खेल अर्जेन्टिनी महान् खेलाडी डिएगो म्याराडोनाको सम्झनामा आयोजना गरिएको हो । उनको निधन गत वर्ष भएको थियो ।