जनकपुरधाम, २९ मंसिर । प्रदेश २ का प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसदले प्रदेश सभाको बैठक अवरुद्ध गरेका छन् ।

प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले दुईवटा अध्यादेश प्रदेश सभामा पेश गर्न लाग्दा लोसपाका प्रमुख सचेतक परमेश्वर साहले विरोध जनाएका हुन् ।

सभामुख सरोज यादवले सामाजिक विकासमन्त्री साहलाई प्रदेश सभामा प्रदेश कृषि विश्वविद्यालय अध्यादेश, २०७८ र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश, २०७८ पेश गर्न अनुमति दिंदा प्रमुख सचेतक साहले विरोध जनाएका छन् ।

साहले अध्यादेशमार्फत सरकार चल्न नसक्ने र यो अध्यादेश प्रदेश सभालाई छलेर अधिवेशन अन्त्य गरी ल्याइएकोले गैरसंवैधानिक रहेको आरोप समेत लगाए ।

साहको विरोधपश्चात लोसपाका सांसदहरु आ–आफ्नो स्थानबाट उठेका थिए ।

लोसपाको विरोधपश्चात सभामुख यादवले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।