काठमाडौं, २८ मंसिर । अखिल नेपाल फुटबल संघ (एन्फा)को महिला फुटबल टोलीका प्राविधिक निर्देशक ग्यारी फिलिप्सको सम्झौता सकिएको छ । सम्झौता बुधबार सकिने भएसँगै एन्फाले नयाँ सम्झौता नगर्ने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी)को सहयोगमा साढे दुई वर्षअघि अस्ट्रेलियन फिलिप्स नेपाल आएका थिए । उनले केही समय राष्ट्रिय महिला टोलीलाई पनि प्रशिक्षण दिएका थिए ।

एएफसीले दिँदै आएको परियोजना बन्द भएपछि फिलिप्सलाई बिदाइ गर्ने निष्कर्षमा एन्फा पुगेको हो ।

‘एएफसी परियोजनामार्फत् फिलिप्सको पारिश्रमिक दिइन्थ्यो । त्यो परियोजना सकिएको छ,’ एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने,‘ एन्फाले आफ्नै आर्थिक व्यवस्थापनबाट उनलाई राख्ने सम्भावना छैन ।’

यता फिलिप्सले पनि नेपालमा गरेको आफ्नो कार्यप्रति खुसी व्यक्त गर्दै बिदा हुन लागेको बताएका छन् ।

‘साढे २ वर्ष नेपालमा प्राविधिक निर्देशक र महिला राष्ट्रिय टोलीको प्रशिक्षकको भूमिका अन्त्य भएको छ । आफूले बसाएको जगबाट म निकै खुसी छु । यो यात्रा र अनुभव म जो कोही फुटबल व्यक्तिका लागि सिफारिस गर्छु । अवसरलाई कहिल्यै नकार्नु हुन्न । अब नयाँ यात्राको खोजीमा हुनेछु’,उनले आफ्नो लिङ्कडिननमार्फत् जानकारी गराएका छन् ।

फिलिप्सले नेपालमा रहँदा विशेषगरी प्रशिक्षक उत्पादनका लागि प्रशिक्षण शिक्षा क्षेत्रमा ठूलो योगदान गरेका छन् । उनले प्राविधिक समितिसँग मिलेर नेपालको छुट्टै शैली र त्यसको प्रशिक्षण विधि नै विकास गरेका थिए ।

नेपाली फुटबलको ‘गोर्खाली स्पिरिट’ सिद्धान्त स्थापना गरेर नेपालको आफ्नै शैलीलाई ग्रासरुटदेखि अबलम्बन गर्ने उनको लक्ष्य रहेको थियो ।