जनकपुरधाम, २८ मंसिर । नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले २४९ मत प्राप्त गरेका छन् ।

मधेसमा उदाउँदो नेताको छवि बनाएका निधिलाई यस महाधिवेशनमा मधेसबाट समेत प्रत्यासित मत आएन । निधिलाई मधेसको बलियो जनाधार सहित नेता बन्ने धोको समेत पूरा नभएको राजनितिक विश्लेषकहरु बताउँछन् ।

निधिले प्रदेश २ बाट कांग्रेसको प्रतिनिधित्व गर्ने पुराना नेताहरुलाई महत्व नदिनुका साथै महाधिवेशन प्रतिनिधि छनोट गर्न पदको दुरुपयोग गरेकोले समेत यस्तो स्थिति सिर्जना भएको हुन सक्ने अनुमान लगाइएको छ ।

महाधिवेशन प्रतिनिधि कोमलकान्त झाले पहिलो चरणको चुनावले सत्ताको दुरुपयोग गरिएको प्रमाणित भएको बताए । उनले भने,‘प्रदेश २ बाट समेत निधिलाई कम मत आउनुले सत्ता र पदको दुरुपयोग भएको प्रमाणित गर्दछ ।’

राजनीतिक विश्लेषक रोशन जनकपुरीले विमलेन्द्र निधिलाई यस महाधिवेशनले आफू कांग्रेस भित्र मधेश कित्ताको ठूलो नेता रहेको भ्रम टुटेको बताए ।

उनले भने,‘निधिलाई उनी आफू कांग्रेस भित्र मधेश तर्फको पिलर रहेको भ्रम थियो, जुन पिलर भत्किएको छ । मधेशमा अधिकारका लागि भएको आन्दोलनले समेत महाधिवेशनमा प्रभाव पारेको छ ।’ उनले मधेश आन्दोलनमासमेत निधिमा कुनै प्रकारको लिगेसी नरहेकाले प्रदेश २ बाट समेत सोचे अनुरुप मत पाउन नसकेको बताए ।

महाधिवेशन प्रतिनिधि प्रफुल्लराज घिमिरेले प्रदेश २ का कांग्रेसीजन पद र अवसरको लोभमा लागेकोले यस प्रदेशबाट समेत निधिले सोचे अनुरुप मत नपाएको बताए । एक जना महाधिवेशन प्रतिनिधिका अनुसार निधिले धनुषाबाट समेत पुरै मत पाउन सकेनन् । धनुषाबाट उनलाई करिब ६० वटा मत मात्रै परेको अनुमान छ ।

प्रदेश २ का मतदाताहरुको बहुमत सदस्यको समर्थन पाएको भए निधि कांग्रेसको बलियो मधेसी छवि भएको नेताको रुपमा उदाउने सम्भावना थियो तर त्यसमा पनि उनि चुकेका छन् ।

निधिले निर्वाचनको तयारीमा समेत चुकेको र सिमित घेरामा रहेकाले यति थोरै मत आएको राजनीतिका जानकारहरु बताउँछन् । शेरबहादुर देउवा खेमाको बलियो नेताको रुपमा परिचित निधिले देउवालाई जिताउन १३औँ महाधिवेशनमा तनमनले लागेका थिए । देउवाले पहिलो रुचाएका व्यक्ति निधि नै थिए । उनी उपप्रधानमन्त्री, गृहमन्त्री र पार्टीका उपसभापति सम्म भएका छन । तर १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवार बन्ने घोषणा गरेपछि देउवा र निधि बिच खटपट सुरु हुनुका साथै पुराना साथीहरुले समेत निधिको साथ छाडेका थिए ।

विगतमा निधिको विश्वास पात्रको रुपमा रहेका महेन्द्र यादव, आनन्द प्रसाद ढुंगानाले समेत उनको साथ छोडेपछि प्रदेश २ मा पनि बलियो जनाधार भएका नेताहरुको निधिको साथ थिएन । आनन्द ढुंगानाले निधि आफ्नै विरुद्धमा लागेपछि आफूले उनको साथ छोडेको बताए ।

प्रदेश २ को सप्तरी जिल्लाको चारवटै निर्वाचन क्षेत्रबाट २६/२६ जना गरि १०४ जना, सिरहा १ बाट २६, २ बाट २७ र ३ तथा ४ बाट २६/२६ गरि १०५, धनुषाको चारवटै निर्वाचन क्षेत्रबाट २६/२६ जना गरि १०४, महोत्तरीको क्षेत्र नम्बर ३ बाहेक बाँकी क्षेत्रबाट २६/२६ गरि ७८, रौतहट १ बाट २७, २ बाट २६, ३ बाट २८ र ४ बाट २६ गरि १०७, सर्लाही १ बाट २५ र २, ३ तथा ४ बाट २६/२६ गरि १०३, बारा १ बाट २६, २ बाट २७ र ३ तथा ४ बाट २६/२६ गरि १०५ र पर्सा १, २ र ४ बाट २६/२६ तथा ३ बाट २५ गरि १०३ जनालगायत कुल ८०६ महाधिवेशन प्रतिनिधि रहेका छन् ।