काठमाडौं, २७ मंसिर । युवा तथा खेलकुद मन्त्रालयले खेल पत्रकारितामा संलग्न १० जना पत्रकारलाई सम्मानित गर्ने भएको छ ।

मंसिर २७ गतेको मन्त्रीस्तरको निर्णयअनुसार खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मानतर्फ १, पत्रकारिता प्रोत्साहन (समावेशी) तर्फ २ तथा पत्रकारिता प्रोत्साहन (प्रदेशगत)तर्फ ७ जना पत्रकार सम्मानित हुने भएका छन् ।

खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मानतर्फ कान्तिपुर दैनिकका हिमेशरत्न बज्राचार्य, पत्रकारिता प्रोत्साहन (समावेशी) तर्फ कान्तिपुर दैनिककै सन्जु पौडेल र ढोरपाटन दैनिकका विजय नेपाली सम्मानित हुने भएका छन् ।

पत्रकारिता प्रोत्साहन (प्रदेशगत) तर्फ प्रदेश १ बाट स्थानीय सन्देश साप्ताहिकका नमीन ढकाल, प्रदेश २ बाट नयाँ पत्रिका दैनिकका वसन्त खतिवडा, प्रदेश ३ बाट कान्तिपुर दैनिकका कुशल तिमल्सिनाले यो सम्मान पाउने भएका छन् ।

त्यस्तै गण्डकी प्रदेशबाट ग्यालेक्सी फोर केकी सोनिता अर्याल, लुम्बिनीबाट रेडियो नमस्तेका दिपक न्यौपाने, कर्णाली प्रदेशबाट गुराँस खबर डटकमका रमेशकुमार पाण्डे र सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय समाचार समितिका विनोदसिंह विष्ट पनि यो सम्मानबाट सम्मानित हुने भएका छन् ।