जनकपुरधाम, २७ मंसिर । जनकपुरधाममा कोभिड–१९ को खोप बिक्रि गरिरहेका दुईजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित स्वास्थ्यचौकीमा कार्यरत पाँचौ तहका हेल्थ एसिस्टेन्ट अजकुमार साह र उनका सहयोगी कृष्णकुमार यादव रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले जनाएको छ ।

नेपाल सरकारले निःशुल्क रुपमा दिँदै आएको भ्याक्सिन (जनसन एण्ड जनसन) २० हजार रुपैयाँमा बिक्रि गरिरहेको सूचनाको आधारमा उनीहरुलाई अख्तियारको टोलीले पक्राउ गरेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

निःशुल्क रुपमा कोभिड–१९ बिरुद्धको खोप (जनसन एण्ड जनसन) लगाई दिनुपर्नेमा सो नगरी सेवाग्राहीसँग खोप लगाउन २० हजार रुपैयाँ घुस मागेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको उनले बताए ।

हेल्थ असिस्टेन्ट साहको निर्देशनमा हेल्थ असिस्टेन्ट (बिद्यार्थी) कृष्णा कुमार यादवले कोभिड–१९ बिरुद्धको खोप (जनसन एण्ड जनसन) लगाई दिई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा जनकपुरधाम–७ स्थित नयाँ बसपार्कबाट उक्त रकमसहित नियन्त्रणमा लिइएको रिसालले बताए ।

उनीहरुले ७ हजारको दरले ३ थान भ्याक्सिन बिक्रि गरेको स्वीकार समेत गरेको बताइएको छ ।