जनकपुरधाम, २७ मंसिर । विभिन्न मागहरु राख्दै धनुषाको नगराइन नगरपालिकाका शिक्षकहरू विगत ४ दिनदेखि धर्नामा बसेका छन् ।

विभिन्न ३ बुँदे माग राख्दै शिक्षकहरूले नगराइन नगरपालिकाको कार्यालयमा गत शुक्रबारदेखि नै धर्ना दिएका हुन् ।

आफूहरुको माग पटक पटक राख्दा पनि कुनै सुनुवाइ नभए पछि आफूहरु धर्नामा बस्न बाध्य भएको नेपाल शिक्षक संघ धनुषाले जनाएको छ ।

शिक्षकहरूले २०७८ साउन महिनादेखि हालसम्मको तलब भत्ता अविलम्ब निकासा गर्नुपर्ने, बालविकास र विद्यालय कर्मचारीको साउनदेखि १५ हजार रुपैयाँका दरले निकासा गर्नुपर्ने र विस्थापित अस्थायी शिक्षकको पारिश्रमिक दिनुपर्नेलगायतका मागहरु राख्दै ४ दिनदेखि धर्नामा बसेका छन् ।

नेपाल शिक्षक संघ धनुषाको आयोजनामा शिक्षकहरूले नगराइन नगरपालिकाको कार्यालयमा धर्ना दिएका हुन् ।