एजेन्सी, २६ मंसिर । फुटबल लिजेन्ड डिएगो म्याराडोनाको हराएको घडी भारतको आसाममा फेला परेको छ । करिब १३ हजार २०० डलर मूल्यबराबरको हबलट वाच दुबईबाट हराएको थियो ।

घडी फेला पार्ने भारतीय दुबईमा काम गर्थे । उनी हालसालै दुबैबाट भारत फर्किएको प्रहरी अनुसन्धानमा खुलेको छ । दुबई प्रहरीको सहयोगमा सो घडी फेला परेको आसामका मुख्यमन्त्री हिमान्त विश्व शर्माले जानाकारी दिएका छन् ।

‘अन्तर्राष्ट्रिय सहकार्य र आसाम प्रहरीको संयोजनमा म्याराडोनाको घडी फेला परेको छ । दोषीमाथि कानुनी कारबाही गरिएको छ,’ शर्माले भनेका छन् ।

आरोपित व्यक्ति दुबईस्थित एक कम्पनीमा सुरक्षा गार्डको रुपमा काम गर्थे । कम्पनीमा केही दिन काम गरेपछि बाबु विरामी भएको भन्दै ती व्यक्ति अगस्टमा आसाम फर्किएका थिए ।

घडी हराएपछि दुबई प्रहरीले आसाम प्रहरीको सहकार्यमा अनुसन्धान बढाएको थियो । त्यस लगत्तै वाजी हुसेन शनिबार घरबाटै पक्राउ परेका थिए । उनी बसेको घरबाट घडी पनि भेटिएको थियो ।