एजेन्सी, २३ मंसिर । अफ्रिकी मुलुक मालीमा भएको बम विस्फोटमा परी राष्ट्रसंघका ७ जना शान्ति सेनाको मृत्यु भएको छ ।

बुधबार बिहान मध्य मालीको बन्डियागारा क्षेत्रमा भएको बम विस्फोटमा परी ७ जना शान्ति सेनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । विष्फोटमा परी टोगोका ७ जना सैनिकको मृत्यु भएको र ३ जना गम्भीर घाइते भएको समाचारमा उल्लेख छ ।

डुएन्ट्जा शहरबाट सेभारेतर्फ जाने क्रममा शान्ति सेना सवार गाडी विस्फोटमा परेको राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफानी डुजारिकले बताए ।

गुटेरेसले घटनाको निन्दासहित मृतक सैनिकका आफन्तप्रति समवेदना व्यक्त गर्दै घाइते सैनिकको शीर्घ स्वास्थ्य लाभको कामना गरेको पनि डुजारिकको भनाइ छ ।

त्यस्तै, राष्ट्रसंघीय शान्ति अभियानका लागि उप–महासचिव जाँ पियेरे लाक्रोइँले अपराधीलाई दण्डित गर्नुपर्ने बताएका छन् ।