एजेन्सी, २३ मंसिर । च्याम्पियन्स लिगअन्तर्गतको खेलमा फ्रेन्च क्लब लिलीले जर्मन क्लब उल्फ्सबर्गमाथि ३–१ को जित निकालेको छ ।यो जितसँगै लिलीले समूह विजेताको रूपमा अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

उल्फ्फबर्गको घरेलु मैदान भोल्क्सओगन एरिनामा लिलीलाई सहज जित दिलाउन बुकार एल्मज, जोनाथन डेभिड र एन्जल गोमेजले गोल गरे ।

उल्फ्सबर्गका लागि रेनाटो स्टिफेनले १ गोल फर्काए । खेलको ११औं मिनेटमा एल्मजको गोलमार्फत् लिलीले अग्रता लिएको थियो । ७२औं मिनेटमा डेभिडले टोलीको अग्रता दोब्बर बनाए ।

७७औं मिनेटमा गोमेजले गोल गरेपछि लिली ३–० ले अघि बढ्यो । ७९औं मिनेटमा स्टिफेनले उल्फ्सबर्गका लागि १ गोल फर्काए । यो जितसँगै लिलीले समूह जीमा ६ खेलबाट ११ अंक जोड्दा उल्फ्सकर्गले ५ अंकका साथ अन्तिममा रहेर प्रतियोगिताको अन्त्य गरेको छ ।

यही समूहको अर्को खेलमा अष्ट्रियन क्लब आरबी साल्जबर्गले स्पेनिस क्लब सेभियामाथि १–० को कठिन जित हात पारेको छ । यो जितसँगै साल्जबर्ग ६ खेलबाट ११ अंकका साथ उपविजेताका रूपमा अन्तिम १६ मा पुग्दा सेभिया ६ अंक जोडेर तेस्रो स्थानमा रह्यो।