एजेन्सी, २२ मंसिर । भारतको तमिलनाडुमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा ‘चिफ अफ डिफेन्स स्टाफ’ विपिन रावतसहित १३ जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो भारतीय सेनाको आईएएफ एमआई १७ भी ५ हेलिकप्टर तामिलनाडु राज्यको कुन्नर भन्ने ठाउँमा दुर्घटना हुँदा रावतसहित १३ जनाको मृत्यु भएको भारतीय एयर फोर्सले पुष्टि गरेको छ । रावतसँगै उनकी पत्नी मधुलिका रावत र अरु ११ जनाको मृत्यु भएको भारतीय एयर फोर्सले ट्विटरमार्फत जानकारी दिएको छ ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा रावतसहित १४ जना सवार थिए । रावत भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ समेत हुन् । रावतलाई १ जनवरी २०२० मा भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ नियुक्त गरिएको थियो । त्यसअघि उनी भारतीय स्थल सेनाका प्रमुख थिए ।

बुधबार बिहान तामिलनाडुको सुलुरस्थित सैन्य शिविरबाट वेलिङटन जाने क्रममा हेलिकप्टर दुर्घटना भएको थियो । बाक्लो कुहिरोका कारण जंगलमा दुर्घटना भएलगत्तै हेलिकप्टरमा आगो लागेको थियो ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा रावत तथा उनकी पत्नी मधुलिका रावत, ब्रिगेडियर एलएस लिड्डेर र लेप्टिनेन्ट कर्नेल हरजिन्दर सिंह सवार रहेका थिए । त्यस्तै, पीएसओहरू नायक गुर्सेवक सिंह, नायक जितेन्द्र कुमार, लेन्स नायक विवेक कुमार, लेन्स नायक एनके बी साइ तेजा र हाव सत्पाल सवार थिए ।

रावत विलिङ्टनस्थित स्टाफ कलेजमा तालिम लिइरहेका अफिसरहरुलाई सम्बोधन गर्न त्यसतर्फ गएका थिए । भारतीय वायु सेनाले दुर्घटनाको कारण पत्ता लगाउन भन्दै छानबिन गर्न आदेश दिएको छ ।

रक्षा प्रमुख रावत चढेको हेलिकोप्टर यसअघि पनि दुर्घटनाग्रस्त भएको थियो । ३ फेब्रुअरी २०१५ मा नागाल्याण्डको दीमापुरमा दुर्घटनाग्रस्त भएको थियो । त्यो बेला उनी सेनाको लेफ्टिनेन्ट जनरल थिए ।

एमआई १७ हेलिकप्टर यसअघि पनि दुर्घटनामा परेको थियो । एक महिनाको बीचमा यो दोस्रो एमआई १७ हेलिकोप्टर दुर्घटनामा परेको हो । यसअघि १९ नोभेम्बरमा एमआई हेलिकोप्टर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । अरुणाञ्चल प्रदेशमा दुर्घटनाग्रस्त भएको थियो ।

कारगिलमा समेत प्रयोग हुने यो हेलिकप्टर रूसमा बनेको हो । भारतमा यो सन् २०१२ देखि प्रयोग गरिँदै आएको थियो । दुई इन्जिन रहेको यो हेलिकप्टर ट्रान्सपोर्ट तथा युद्धका लागि समेत प्रयोग गरिँदै आएको छ । कारगिल युद्धमा पाकिस्तानीमाथि उक्त हेलिकप्टरमार्फत नै आक्रमण गरिएको थियो ।