एजेन्सी, २२ मंसिर । बुरुण्डीमा एउटा कारागारमा आगलागी हुँदा ३८ जना कैदीको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् ।

बुरुण्डीको राजधानी गिटेगामा रहेको कारागारमा आगलागी भएको हो । कारागारको अधिकांश भाग जलेर ध्वस्त भएको छ ।

केही वरिष्ठ मन्त्रीहरुसँगै कारागारको अवस्था अवलोकन गर्न गएका उपराष्ट्रपति प्रोस्पर बोजोम्बान्जाले पत्रकारहरुसँगको कुराकानीमा ३८ जनाको मृत्यु भएको र ६९ जना गम्भीर घाइते भएको जानकारी दिए । आगलागीको समयमा कैदीहरू सुतिरहेकाले धेरैको मृत्यु भएको बताइएको छ ।

विद्युत्त चुहावटका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

एकजना प्रत्यक्षदर्शीले समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै भनेका छन्, ‘आगोको ज्वाला धेरै माथि उठेको देखेपछि डरले कराउँदै ढोका खोल्न भन्यौं तर प्रहरीले ढोका खोल्न आदेश नपाएको भन्दै अस्वीकार गरेकाले ठूलो मानवीय क्षति हुन पुग्यो ।’ उनले अगाडि भनेका छन्, ‘म कसरी उम्कें थाहा छैन । तर धैरै कैदीहरू भाग्दाभाग्दै जलेर मरे ।’