जर्मन क्लब बेरुसिया डर्टमन्ड समूह चरणबाटै बाहिरियो

एजेन्सी, २२ मंसिर । च्याम्पियन्स लिगअन्तर्गत मंगलबारको खेलमा जित हात पारे पनि जर्मन क्लब बेरुसिया डर्टमन्ड समूह चरणबाटै बाहिरिएको छ ।
घरेलु मैदानमा डर्टमन्डले १० खेलाडीमा समेटिएको टर्किस क्लब बेसिक्टासलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो ।
सिग्नल इडुना पार्कमा घरेलु टोलीले खेलको २९औं मिनेटमा डोनेल मालेनको गोलबाट अग्रता लिएको थियो । ४३औं मिनेटमा वेलिन्टन सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बेसिक्टास १० खेलाडीमा सीमित बन्यो ।
पहिलो हाफको थप गरिएको समयमा कप्तान मार्काे रिउसले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ५३ औं रिउसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । एर्लिङ ब्राउन्ट हालान्डले ६८औं र ८१औं मिनेटमा गोल गर्दै डर्टमन्डलाई फराकिलो जित दिलाए ।
जितपछि डर्टमन्डले समूह ‘सी’ मा ९ अंक जोड्दै तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको छ । पराजित बेसिक्टास अंकविहीन बन्यो । समान अंक भए पनि डर्टमन्ड स्पोर्टिङ सिपीसँग गोल अन्तरमा पछि पर्दै बाहिरिएको हो ।
यही समूहको अर्काे खेलमा डच क्लब आयाक्सले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीलाई ४–२ ले पराजित ग¥यो । यो नतिजापछि आयाक्सले समूह चरणमा शतप्रतिशत जित निकाल्दै १८ अंक जोडेर शीर्षस्थान कब्जा ग¥यो ।
हारका बाबजुद स्पोर्टिङ ९ अंक जोडेर दोस्रो स्थानमा रहँदै उपविजेताका रूपमा अन्तिम १६ मा पुग्यो ।