एजेन्सी, २१ मंसिर । इराकको दक्षिणी शहर बसरामा मंगलबार भएको मोटरसाइकल विस्फोटमा चार जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका छन् ।

राजधानी बगदादबाट करिब ५५० किलोमिटर दक्षिणमा रहेको मध्य बसराको अल–सोमोदमा फसेको मोटरसाइकलमा दिउँसो विस्फोट भएको इराकी संयुक्त अपरेशन कमाण्ड (जेओसी) को मिडिया कार्यालयले विज्ञप्ति मार्फत् जनाएको छ ।

बसरा स्वास्थ्य विभागको प्रारम्भिक रिपोर्टलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, विष्फोटले नजिकैका दुईवटा नागरिक कारहरूमा आगजनी गरेको छ जसमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

घटनाको बारेमा थप जानकारी पछि सार्वजनिक गरिने विज्ञप्तिमा जनाइएको छ । विस्फोटक विज्ञ र सुरक्षा बलले विस्फोट भएको ठाउँमा अनुसन्धान गरिरहेको छ ।