भारतमा कोरोना संक्रमितको संख्या घट्दै

एजेन्सी, २१ मंसिर । भारतमा कोरोना संक्रमितको संख्या निकै कम भएको छ । सरकारी अधिकारीले पछिल्लो एक दिनमा डेढ वर्षपछिकै सबैभन्दा कम संक्रमित भएको जनाएका हुन् ।
उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ८२२ जना नयाँ संक्रमित थपिएका हुन ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो संख्या ५५८ दिनपछिकै सबैभन्दा कम भएको जनाएको छ । भारतमा पछिल्लो समयका सवैभन्दा धेरै संक्रमितको संख्या केरला राज्यमा देखिँदै आएको छ ।
पछिल्लो थपिएकामध्ये पनि केरलाका मात्रै ३ हजार २७७ जना रहेका छन् । मन्त्रालयका अनुसार भारतमा अहिले कोरोनाबाट संक्रमित अवस्थामै रहेकाको संख्या ९५ हजार १४ रहेको छ । यो संख्या पनि ५५४ दिनपछिकै सबैभन्दा कम रहेको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।
कुल संक्रमित मध्ये एक प्रतिशतभन्दा कम मात्रै अहिले संक्रमित अवस्थामै रहेका हुन् । मन्त्रालयले पछिल्लो एक दिनमा १० हजार चारजना कोरोना संक्रमणमुक्त भएको जनाएको छ ।
भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको संख्या ३ करोड ४० लाख ७९ हजार ६१२ पुगेको छ ।