एजेन्सी, २१ मंसिर । कतारमा जारी फिफा अरब कपमा आयोजक कतारले आफ्नो विजयी यात्रा कायमै राखेको छ । सोमबार राति अल बायत स्टेडियममा भएको खेलमा आयोजक कतारले इराकलाई ३–० गोलले पराजित गरेपछि अपराजित यात्रालाई कायमै राखेको हो ।

कतारले पहिलो खेलमा १–० ले बहराइन र दोस्रो खेलमा २–१ गोल अन्तरले ओमानलाई हराएको थियो । वैकल्पिक खेलाडी अल्मोज अलीसँगै अक्रम अफिफ र हसन हेदुसले गरेको गोलमा इराकलाई पराजित गर्दै कतारले आफ्नो लय कायमै राखेको छ ।

कतार र इराकबीच भएको खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । तर, कतारले दोस्रो हाफमा ३ गोल गर्न सफल भयो ।स्ट्राइकर मोहम्मद मुन्तारीले प्रतियोगिताको सुरुमा राम्रो मौका गुमाएका थिए । तर, कतारका गोलरक्षक युसेफहसनले उत्कृष्ट बचाउन गरे ।

इराकविरुद्ध कतारले तीनवटै गोल अन्तिम १२ मिनेटमा गरेको हो । कतारका लागि वैकल्पिक खेलाडी अल्मोज अलीले ८२ औं मिनेटमा गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । त्यस्तै, अक्रम अफिफले ८४ र हसन हेदुस ले ९३ औं मिनेटमा गोल गर्दै टिमको जित पक्का गरे ।

यो जितसँगै कतार ९ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । २ अंक मात्र जोड्न सकेको इराक भने अरब कपबाट बाहिरिएको छ । अरब कपमा विभिन्न १६ देशका टिमले खेलिरहेका छन् ।