यू–१९ क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा ठकुरी नियुक्त

काठमाडौं, २१ मंसिर । यू–१९ क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा वसन्त शाही ठकुरी नियुक्त भएका छन् । वसन्तको प्रशिक्षकमा नेपाली यू–१९ टोलीले बुधबारदेखि एसिया कपको बन्द प्रशिक्षण थाल्नेछ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार, वसन्त यू–१९ को मुख्य प्रशिक्षक हुनेछन् । वसन्तकै प्रशिक्षकमा लुम्बिनी प्रदेशले आइतबार काठमाडौंमा सम्पन्न यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि जितेको थियो ।
उनले नेपाली सिनियर टोलीको सहायक तथा यू–१६ टोलीको प्रशिक्षकका रूपमा काम गरिसकेका छन् ।
वसन्तले नेपालको यू–१६ टोलीलाई दुई अन्तर्राष्ट्रिय उपाधि दिलाएका छन् । गत चैतमा कतार भ्रमणको लागि क्यानले वसन्तलाई सिनियर टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । दुर्भाग्य उक्त सिरिज कोरोना कारण हुन सकेन ।
गत वर्ष आइसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिजमा वसन्त नेपालको सहायक प्रशिक्षक थिए ।
गत पुषदेखि पूर्वप्रशिक्षक विनोद दास क्यानको म्यानेजर पदमा नियुक्त भएसँगै यू–१९ टोली प्रशिक्षक विहीन थियो ।