जनकपुरधाम, २० मंसिर । धनुषामा १८ वर्ष भन्दा माथि उमेर समूहका व्यक्तिलाई मंसिर २४ देखि २८ गतेसम्म कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय धनुषाले सोमबार जनकपुरधाममा एक पत्रकार अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै यस्तो जानकारी दिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय धनुषाका खोप अधिकृत राजदेव यादवले कोरोनाविरुद्धको भेरोसेल खोप १ लाख व्यक्तिलाई दिने कार्यक्रम रहेको बताए ।

कोरोनाविरुद्धको खोप प्रत्येक पालिकामा रहेको खोपकेन्द्र मार्फत लगाइने उनले जानकारी दिए । धनुषा जिल्लामा ६३१ वटा खोप केन्द्रहरु छन् । एउटा खोप केन्द्रमा १ जना खोप लगाउने कार्यकर्ता र २ जना सहयोगी परिचालित छन् । जिल्लाका १६९ वडामा त्यति नै संख्यामा खोप सुपरभाईजरसमेत परिचालन गरिएको उनले बताए ।

यसअघि खोप लगाउन छुटेका सवै नागरिकलाई खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालय धनुषाले आग्रह गरेको छ । विगतमा १ डोज लगाएका व्यक्तिहरुले पनि दोस्रो डोज लगाउन सक्ने छन् ।

स्वास्थ्य कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख यूगल किशोर यादवले निर्धक्क भएर खोप लगाउन सर्वसाधारणमा आग्रह गरेका छन् ।

१८ बर्ष र सो भन्दा माथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्ध खोपको पहिलो र दोस्रो मात्रा मंसिर १६ देखी २९ गतेसम्म स्वास्थ्य कार्यालयमा नै लगाइँदैछ ।

धनुषा जिल्लाको कूल जनसंख्या ८ लाख ४७ हजार ८ सय रहेकोमा अहिलेसम्म खोपको पहिलो मात्रा १ लाख ७३ हजार ८४ र दोस्रो मात्रा १ लाख ३७ हजार ६४ जना गरि जम्मा ३ लाख १० हजार १४८ जनाले लगाइसकेका छन् ।

जसमध्ये १८ वर्षभन्दा माथिको उमेर समूहका १ लाख ३७ हजार ६४ जना र १२ देखि १७ बर्ष उमेर समूहका १ हजार ७ सय व्यक्ति रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा १८ वर्षभन्दा माथिको उमेर समूहका ४ लाख १८ हजार ९२३ र १२ देखि १७ बर्ष उमेर समूहका ९४ हजार ४३२ जना अझै खोप लगाउन बाँकी रहेका छन् ।

अहिलेसम्म जिल्लाका ३२ प्रतिशत नागरिकले पूर्ण र ३६ प्रतिशतले एक डोज खोप लगाएका छन् । जिल्लामा कोभिसिल्ड, भेरोसेल, जनसन एण्ड जनसन, एस्ट्राजेनेका र फाइजर गरि पाँच प्रकारका खोप लगाइएको छ ।