नेपालमा पनि ‘ओमिक्रोन’ पुष्टि

काठमाडौं, २० मंसिर । कोरोना भाइरसको नयाँ र खतरनाक भनिएको ओमिक्रोन भेरियन्टका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् ।
सोमबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नेपालमा दुईजनामा यो भेरियन्ट भेटिएको पुष्टि गरेको हो ।
मन्त्रालयका अनुसार ६६ वर्षका एक विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षका एक व्यक्तिलाई कोरोनाको यो नयाँ भेरियन्ट संक्रमण भएको पुष्टि भएको हो । दुवैजनाले कोरोनाभाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार यी दुईमध्ये विदेशी नागरिक यसअघि कोरोनाभाइरसको रिपोर्ट नेगेटिभ आएपछि नेपाल प्रवेश गरेका थिए ।स्वास्थ्य मन्त्रालयका अनुसार यो भेरियन्ट संक्रमण पुष्टि भएका दुवैजना अहिले अस्पतालमा भर्ना भएका छन् ।
तर, मन्त्रालयले कोरानाको यो नयाँ भेरियन्ट भेटिएको स्थानबारे केही जानकारी दिएको छैन ।
२४ नोभेम्बरमा सबैभन्दा पहिले दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको बी.१.१.५२९ भेरियन्टलाई ‘ओमिक्रोन’ नाम दिइएको हो । विश्व स्वास्थ्य संगठनले यसलाई भेरियन्ट अफ कन्सर्न पनि भनेको छ ।
यो भेरियन्टबारे अहिले अध्ययन भइरहेको र अहिले रहेका विभिन्न खोपहरुले यसविरुद्ध कति प्रभावकारी रुपमा काम गर्छन् भन्ने अहिलेसम्म यकिन भइसकेको छैन । विश्व स्वास्थ्य संगठनले यसबारे अध्ययन गरिरहेको बताएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म नेपालसहित ३६ देशका ५७६ जनामा यो भेरियन्ट पुष्टि भएको छ ।