म्यानमारकी नेतृ आङ सान सुकीलाइ ४ वर्ष जेल सजाय सुनाइयो

एजेन्सी, २० मंसिर । म्यानमारकी प्रजातन्त्रवादी नेतृ तथा नोवेल शान्ति पुरस्कार विजेता आङ सान सुकीलाइ ४ वर्ष जेल सजाय सुनाइएको छ ।
म्यानमारको एक अदालतले उनलाई उक्त सजाय सुनाएको हो ।
गत फेब्रुअरीमा सेनाले म्यानमारको सत्ता कब्जा गरेपनि सुकी विरुद्ध परेका मुद्दामा म्यानमारको अदालतले पहिलो फैसला सुनाएको हो ।
अपदस्थ नागरिक सुकीलाई उक्साउने र कोभिड–१९ नियम तोडेको आरोपमा ४ वर्षको जेल सजाय सुनाएको हो ।
७६ वर्षीया सुकीले उक्साउने, कोभिड–१९ प्रोटोकलको उल्लङ्घन र गोपनियता ऐनको उल्लङ्घनलगायत करिब एक दर्जन आरोपको सामना गरिरहेकी छिन् ।
उनीमाथि लगाइएका सबै आरोप पुष्टी भए उनलाई एक सय वर्षभन्दा बढी जेल सजाय हुने अनुमान गरिएको छ । तर उनले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएकी छन् ।
गत फेब्रुअरीमा सेनाले सत्ता कब्जा गर्नुअघि सुची म्यानमारको स्टेट काउन्सीलर थिइन् ।