काठमाडौं, १९ मंसिर । चौधौं संस्करणको सूर्य नेपाल गल्फ टुरअन्तर्गत काठमाडौं ओपन सोमबारबाट सुरु हुने भएको छ ।

नेपाल प्रोफेसनल गल्फर संघको आयोजनामा हुने प्रतियोगिता सोमबारबाट सुरु हुन लागेको हो ।

कुल ६ लाख ४० हजार पुरस्कार राशि रहेको प्रतियोगितामा ३४ खेलाडी सहभागी हुनेछन् । प्रतियोगिताको विजयी खेलाडीले १ लाख १० हजार पुरस्कार जित्दा दोस्रो र तेस्रो हुनेले क्रमशः ७४ हजार र ६० हजार पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा शुक्रबहादुर राई, भुवन नगरकोटी, धना थापा, सन्जय लामा, रामे मगरलगायतका खेलाडी सहभागी हुनेछन् । त्यस्तै, दक्षिण एसियाली खेलकुदमा दोहोरो पदक विजेता सुवास तामाङ पनि प्रतियोगितामा सहभागी बन्नेछन् ।

नेपाल प्रोफेसनल गल्फर संघका अध्यक्ष रविन्द्र मान श्रेष्ठले नेपाली गल्फमा यो प्रतियोगिताले सहयोग गर्ने बताए ।

उनले भने, ‘म यो प्रतियोगितामा युवा खेलाडीको उपस्थिति देखेर उत्साहित छु । उनीहरूले राम्रो प्रदर्शन गर्नेमा आशावादी पनि छु ।’

काठमाडौंमा पहिलो खेल खेलेपछि पूर्व टुर धरानमा हुनेछ । धरानपछि वेस्टर्न टुर पोखरामा गरी केन्द्रीय टुर गोकर्ण फरेस्ट गल्फ कोर्समा हुने आयोजकले बताएको छ ।

आयोजक संघले सूर्य नेपाल एनपिएजिए, सूर्य नेपाल च्यालेन्ज, एनपिजिए च्याम्पियन्सिप र नेपाल प्रिमियर गल्फ कोर्स २०२२ को मेसम्म आयोजना गर्ने लक्ष्य राखेको छ ।