झापाको दुई पालिकामा ९ जना डेङ्गुका बिरामी फेला

झापा, १८ मंसिर । विगतमा महामारीकै रुपमा देखिएको डेङ्गु रोग यसपालि पनि देखापरेको छ ।
झापाको दुईवटा पालिकामा ९ जना डेङ्गुका बिरामी फेला परेका छन् । विर्तामोड नगरपालिकामा ५ र मेचीनगर नगरपालिकामा ४ जना फेला परेको पालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कमा उल्लेख छ ।
हाल उनीहरु विर्तामोडस्थित विर्तासिटी हस्पिटल र मनमोहन अस्पतालमा उपचारपछि घर फर्किएका छन् । मनमोहन अस्पतालका डा.शुवेश शौरवले दश दिनको अन्तरालमा अस्पतालमा १० डेङ्गु रोगीको उपचार भएको जानकारी दिए ।
विर्तामोड नगरपालिका स्वास्थ्य शाखाका डेङ्गु रोग फोकल पर्सन तुलसी पोखरेलका अनुसार वडा नम्बर–४ को रमाइलो टोलस्थित सिदार्थ होटल आसपास क्षेत्रमा बढी डेङ्गुको सङ्क्रमण देखिएको छ ।
उनले विशेषगरी विभिन्न क्षेत्रमा काम गर्ने मजदुरमा डेङ्गुको सङ्क्रमण देखिएको बताए । डेङ्गु रोगी देखिए लगत्तै घरदैलोमार्फत नगर क्षेत्रमा डेङ्गु रोग लाग्ने लार्भा फेला नष्ट गर्ने अभियानमा स्वास्थकर्मी र जनप्रतिनिधि सक्रिय रुपमा लागि परेको बताए ।
मेचीनगर नगरपालिकाको वडा नम्बर १०, ६ र ८ मा मात्र चार जना डेङ्गुका बिरामी फेला परेको छ । पालिकाको स्वास्थ्य शाखाकी डेङ्गु फोकल पर्सन सविता सापकोटाले छिटफुटमा डेङ्गुका सङ्क्रमित देखिएसँगै नगरपालिकाले लामखुट्टेबाट हुने डेङ्गु रोग नियन्त्रण तथा रोकथामका लागि सचेतनासहितको अभियान धमाधम गरिरहेको बताए ।